सातौं राष्ट्रिय खेलकुद भोलिदेखि, तर पूर्वाधार निर्माण अझै सकिएन

सातौं राष्ट्रिय खेलकुद भोलिदेखि, तर पूर्वाधार निर्माण अझै सकिएन

७ पुस, विराटनगर । निर्धारित समयभन्दा तीन बर्ष ढिला गरी राष्ट्रिय खेलकुदको महामेला राष्ट्रिय खेलकुदको सातौं संस्करण भोलिदेखि पूर्वाञ्चलका बिभिन्न १३ जिल्लाहरुमा सुरु हुँदैछ ।

तीन पटकसम्म आयोजना मिति तय हुँदै सर्दै गरेको खेलकुद अन्ततः भोलिबाट सुरु हुनेभएको छ । तर औपचारिक रुपमा प्रतियोगिता सुरु हुनुभन्दा २४ घण्टा अघिसम्म पनि पूर्वाधार निर्माण कार्य सकिएको छैन ।

खेलकुद परिषदले सम्पूर्ण तयारी पूरा बताएपनि वास्तविक रुपमा अझै केहि पुर्वाधारहरु निर्माणको क्रममै छन् । जसका कारण पूर्वाञ्चलमा हुने प्रतियोगितालाई सफल पार्न चुनौति देखिएको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले मंगलबार नै इटहरीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भइरहेको बताइरहँदा मोरङ बैद्यनाथपुरमा रहेको क्रिकेट मैदानमा रोलर चलिरहेको थियो ।

मैदान खेल्न योग्य बनाउने काम आजसम्म पनि जारी छ । प्रतियोगिताको खेलतालिका अनुसार भोलिदेखि क्रिकेट प्रतियोगिता यही मैदानमा सुरु हुनेछ ।

क्रिकेट मैदान तयारीको व्यवस्थापनमा रहेका क्यूरेटर शिरिष उपाध्यायका अनुसार क्रिकेट मैदानका लागि ५ सय जना कामदार परिचालन गरिएको थियो । अहिलेपनि एक दर्जनभन्दा बढी कामदारले रातदिन काम गरिरहेका छन् ।

‘दिन सात नभनि काम गरिरहेका छाैं आज बेलुकीसम्ममा खेल मैदान तयार हुनेछ ।’, उपाध्ययले भने, ‘अहिले क्रिकेट मैदानको आउट पिल्डमा रोलिङ गर्ने काम जारी रहेको छ । मैदानको र्‍याडमा घाँस लगाउने काम पनि भइरहेको छ । क्रिकेट मैदानको पिच पनि आन्तिम चरणमा छ यसलाई हामी पूरा गर्ने ध्याउनमा लागेका छौं ।’

Share this post